मताधिकार
परीक्षामा छैन यो भाग पढ्न लायक छ, तर नागरिकता परीक्षाले यसबारे कहिल्यै सोध्दैन।
'सफ्रजेट' (Suffragettes) भन्ने शब्द संसारभरि निर्वाचनमा मतदान गर्ने अधिकारका लागि अभियान चलाउने महिलाहरूका लागि प्रयोग हुन्थ्यो। 1880 र 1890 को दशकमा हरेक उपनिवेशमा कम्तीमा एउटा मताधिकार सङ्गठन थियो। सफ्रजेटहरूले आफ्ना औपनिवेशिक संसद्हरूमा पेस गर्न बिन्तीपत्रहरूमा हजारौं हस्ताक्षर सङ्कलन गरे।
1895 मा साउथ अस्ट्रेलियाका महिलाहरूले मतदान गर्ने र संसद्को निर्वाचनमा उम्मेदवार बन्ने अधिकार पाए। 1899 मा वेस्टर्न अस्ट्रेलियाका महिलाहरूले मतदानको अधिकार पाए।
1902 मा अस्ट्रेलिया महिलालाई मतदान गर्ने र संसद्मा निर्वाचित हुने दुवै अधिकार दिने पहिलो देश बन्यो। आदिवासी र टोरेस स्ट्रेट टापुवासी जनताले 1962 सम्म मतदानको अधिकार पाएनन्।
1923 मा एडिथ कोवान वेस्टर्न अस्ट्रेलियाको संसद्मा निर्वाचित भई पहिलो महिला सांसद बनिन्। 1943 मा इनिड लायन्स अस्ट्रेलियाली संसद्मा निर्वाचित हुने पहिलो महिला बनिन्।
क्याथरिन स्पेन्स (1825–1910)
क्याथरिन स्पेन्स लेखिका, प्रवचनकर्ता, नारीवादी र सफ्रजेट थिइन्। उनी स्कटल्यान्डबाट अस्ट्रेलिया आइन् र अस्ट्रेलियाली जीवनबारे पाठ्यपुस्तक तथा पुरस्कार जित्ने उपन्यासहरू लेखिन्।
उनले घरबारविहीन बालबालिकालाई सहयोग गर्ने संस्था स्थापना गर्न मद्दत गरिन्, र नयाँ किन्डरगार्टन तथा बालिकाका लागि सरकारी माध्यमिक विद्यालयलाई समर्थन गरिन्।
उनी संसद्को उम्मेदवार बन्ने पहिलो महिला थिइन्। धेरै मत पाए पनि उनले सिट जित्न सकिनन्। 1891 मा उनी साउथ अस्ट्रेलियाको महिला मताधिकार सङ्घ (Women’s Suffrage League) की उपाध्यक्ष बनिन्।
क्याथरिन स्पेन्स प्रतिबन्धित समयमा पनि एउटी महिलाले के हासिल गर्न सक्छिन् भन्ने कुराको प्रतीक हुन्।
सरकारी पुस्तिका Australian Citizenship: Our Common Bond बाट