बहुसांस्कृतिक आप्रवासन
परीक्षामा छैन यो भाग पढ्न लायक छ, तर नागरिकता परीक्षाले यसबारे कहिल्यै सोध्दैन।
1950 र 1960 को दशकमा धेरै एसियाली, चर्च तथा अन्य समूहसमेत समावेश भएको बढ्दो आन्दोलनले 'श्वेत अस्ट्रेलिया' ('White Australia') नीति अन्त्य गर्न खोज्यो।
1958 मा सरकारले श्रुतिलेखन परीक्षा हटायो र 1966 मा अस्ट्रेलियाले छानिएका गैर-युरोपेली तथा दक्ष एसियाली आप्रवासन सुरु गर्यो। अन्ततः अस्ट्रेलियाका सबैतिरका मानिसले अस्ट्रेलियाको आप्रवासन कार्यक्रममा सबै राष्ट्रलाई समेट्नुको महत्त्व बुझे।
1973 मा 'श्वेत अस्ट्रेलिया' नीति अन्त्य भयो, र अस्ट्रेलिया बहुसंस्कृतिवादको बाटोमा लाग्यो। त्यस बेलादेखि सरकारले आप्रवासनका सबै नस्लीय मापदण्ड हटायो। 1975 मा, भियतनाम युद्धपछि, अस्ट्रेलियाले रेकर्ड संख्यामा एसियाली शरणार्थी र आप्रवासी स्वीकार गर्यो, जसमध्ये धेरैजसो भियतनाम, चीन र भारतबाट थिए।
1945 यता लाखौं मानिस अस्ट्रेलियामा बस्न आएका छन्, जसमा युद्धग्रस्त देशहरूका धेरै शरणार्थी पनि छन्। आज, अस्ट्रेलियाका आप्रवासीहरू विश्वभरिबाट आउँछन्।
अस्ट्रेलियामा समावेशीकरणको सक्रिय नीति छ, जहाँ हरेक नस्ल, जातीयता वा संस्कृतिका हरेक व्यक्तिले आफूलाई हाम्रो समाजको हिस्सा ठान्न सक्छन्। यो नीति सरकारी नीतिहरूसहित अस्ट्रेलियाली समाजका सबै पक्षमा लागू हुन्छ। यो प्रारम्भिक बालविकासदेखि विश्वविद्यालयसम्मको हाम्रो शैक्षिक पाठ्यक्रममा झल्किन्छ र हरेक कार्यस्थलमा अभ्यास गरिन्छ।
हरेक व्यक्तिलाई समान र भेदभावरहित व्यवहार पाउने अधिकारको रक्षा अस्ट्रेलियाली मानव अधिकार आयोग (Australian Human Rights Commission) र हरेक राज्य तथा क्षेत्रका सरकारी भेदभावविरोधी निकायहरूले गर्छन्। नस्लीय भेदभावको सार्वजनिक रूपमा निन्दा गरिन्छ र यो कानुनअनुसार अपराध हो।
अस्ट्रेलिया सद्भाव र स्वीकार्यताको बहुसांस्कृतिक समाज बनेको छ। यो त्यस्तो देश हो जहाँ आप्रवासी, आदिवासी अस्ट्रेलियाली र अस्ट्रेलियामा जन्मिएका सबैले शान्तिपूर्वक आफ्ना लक्ष्य पछ्याउन स्वतन्त्र महसुस गर्न सक्छन्।
डा. भिक्टर चाङ (Dr Victor Chang) (1936–91)
डा. भिक्टर चाङ अस्ट्रेलियाका उत्कृष्ट मुटु शल्यचिकित्सकहरूमध्ये एक थिए। भिक्टर पिटर चाङ याम हिम (Victor Peter Chang Yam Him) को जन्म 1936 मा चीनमा भएको थियो र उनी 15 वर्षको उमेरमा अस्ट्रेलिया आए।
उनले सिड्नीको सेन्ट भिन्सेन्ट अस्पताल (St Vincent's Hospital) मा काम गरे र 1984 मा अस्ट्रेलियामा मुटु प्रत्यारोपणमा विशेषज्ञता राख्ने पहिलो केन्द्र स्थापना गरे। 1986 मा भिक्टरलाई अर्डर अफ अस्ट्रेलियाको कम्पेनियन (Companion of the Order of Australia) बनाइयो।
अङ्गदाताको अभावप्रति चिन्तित भएपछि भिक्टरले कृत्रिम मुटुको डिजाइन गर्न थाले, जुन 1991 मा उनको दुःखद हत्या हुँदा लगभग पूरा भइसकेको थियो।
उनको सम्झनामा नयाँ अनुसन्धान केन्द्र स्थापना गरिएको छ। उनलाई उनको दक्षता, आशावाद र नवीनताका लागि सम्झिन्छ।
सरकारी पुस्तिका Australian Citizenship: Our Common Bond बाट